बिषादी अवशेष द्रुत विश्लेषण

बालीवस्तुहरुको शत्रुजीव व्यवस्थापनको लागि रासायनिक विषादीहरु प्रयोग गरिदैं आएको विषादीको प्रयोग वार्षिक रुपमा बढ्दै गइरहेको छ । नेपालमा सरदर प्रति वर्ष ३९६ ग्राम खास विष प्रति हेक्टर प्रयोग हुने भएता पनि तरकारी बालीमा ‌औषत खास विष १६०५ ग्राम प्रति हेक्टरका दरले प्रयोग भइरहेको र कृषिमा प्रयोग हुने विषादीको झण्डै ८०% विषादी तरकारी बालीमा प्रयोग हुने अध्ययनले जनाएको छ। हाल नेपालमा १६५ साधारण नाम (Common Name) का ३०३५ वटा व्यापारिक नाममा रासायनिक विषादीहरु विभिन्न शत्रुजीव लक्षित समूह अन्तर्गत पञ्जीकृत भएका छन् । अन्तर्राष्ट्रिय प्रतिवद्धता र आवश्यकता अनुसार नेपालले विषादीको कडा विषालुपना र मानव शरीर, जीवजन्तु र वातावरणमा असर पार्ने २४ (चौबिस) वटा घातक विषादीहरुको पञ्जीकरण र प्रयोगमा प्रतिवन्ध गरेको छ ।

विषादी असुरक्षित प्रयोग बढ्दै गएको सम्दर्भमा आम उपभोक्ताले उपभोग गर्ने कृषि उपजहरुमा विषादीहरुको अवशेष पनि जोखिमपूर्ण मात्रामा रहने खतरा बढ्दै गएको छ । विषादी अवशेष भन्नाले बाली विरुवामा विषादी छरिसके पछि सोको सक्रिय तत्वहरुको बालीमा रहेको मात्रा बुझिन्छ । यसले मानव शरीर, जीवजन्तु र पर्यावरणमा निम्त्याउने जोखिमहरुलाई न्यूनीकरण गर्नुपर्ने हालको प्रमुख चिन्ता र चुनौतीको विषय रहेको छ। विषादी प्रयोगले तत्काल गर्ने हानी र प्रयोग पश्चात बाली/वस्तुमा रहने यसका अवशेषबाट हुने असरलाई कम गरि विषादी प्रयोग भएका वा उपभोग योग्य मात्रामा विषादी अवशेषहरु रहेका कृषि उपजहरु मात्र उपभोक्ताहरु माझ विक्री वितरण हुने पर्ने अत्यावश्यक देखिन्छ ।

यसै सन्दर्भमा तत्कालिन बाली संरक्षण निर्देशनालय, कृषि विभागको अगुवाई र FAO/N को सहयोगमा तरकारी तथा फलफूल बालीमा विषादी अवशेष विश्लेषण गर्न मिति २०७१/०३/०४ गते देखि कालिमाटी फलफूल तथा तरकारी थोक बजार विकास समिति भित्र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला (RBPR) एकाइ स्‍थापना भइ ताजा तरकारी एवं फलफूलमा विषादी अवशेष परीक्षण कार्य सुरु भएको हो । परिक्षणको नतिजाको आधारमा ताजा तरकारी तथा फलफुलहरुलाइ उपभोग योग्य (Consumable), केही दिन पर्खिने र पुन : परिक्षण पछि उपयुक्त भएमा उपभोग गर्ने (Quarantine) र बिसर्जन गर्ने गरी तिन समूहमा वर्गीकरण गर्न सकिन्छ । यस एकाइको प्रभावले उपभोक्ता, कृषक, व्यापारी, राष्‍ट्रिय र अन्तर्राष्ट्रिय मिडियाहरु तथा सबै नागरिकहरु समक्ष विषादी प्रयोग सम्बन्धी जनचेतनामा ब्‍यापक अभिवृद्धि भएको पाइयो ।

यसपछि आ.व. २०७३/०७४ मा व्यावसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा वि.सं. २०७५ सालबाट कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कैलालीको अत्तरीया, बाँकेको नेपालगंज, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, सर्लाहीको नवलपुर र झापाको दमकमा गरी थप ६ (छ) वटा सङ्घीय कृषि थोक बजारहरुमा बिषादी अवशेष द्रुत विश्लेषण एकाइहरुको स्थापना गरीयो ।  बिषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम सञ्चालन निर्देशीका २०७५ र Standard Operating Procedures for Rapid Bioassay of Pesticide Residues Laboratory 2017 जारी गरी सो अनुरुप नियमित रुपमा आन्तरिक बजारमा उपलब्ध कृषि उपजहरु (ताजा तरकारी तथा फलफूलहरु) मा विषादी अवशेष परीक्षणको लागि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइहरु संचालनमा रहेका छन् । सम्बन्धित कृषि बजार संचालक समितिसँगको सहकार्यमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले विषादी अवशेष परीक्षण सँगसँगै विषादीका असर, समुचित प्रयोग र वैकल्पिक व्यवस्थापन विधिहरु सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु विभिन्न सरोकारवाला निकाय, कृषि थोक बजार समिति, कृषक, कृषि उपज व्यापारीहरुसँगको सहभागितामा सञ्चालन गर्ने गरेको छ । परीक्षणको क्रममा विषादी प्रयोग बढी भएका क्षेत्रहरुमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरिएको साथै कृषि थोक बजार समिति, कृषि उपज व्यवसायीहरु र उक्त क्षेत्रका कृषकहरुलाई सचेत गराई विषादी प्रयोगमुक्त कृषि उपज विक्री वितरणमा सजग गराउने कार्यक्रमसमेत सञ्चालन गरिएका छन् । 

यसका अतिरिक्त नेपाल सरकारको आ.व. २०८०/८१ को बजेट वक्तव्य अनुरुप आ.व. २०८०/०८१ मा  थप ५ वटा संघीय कृषि थोक बजारहरु क्रमश: सुर्खेतको वीरेन्द्रनगर, नवलपुरको कावासोती, सिन्धुलीको सिन्धुलीमाडी, धनुषाको ढल्केवर तथा सुनसरीको धरान स्थित कृषि उपज थोक बजारहरुमा सम्बन्धित बजार सञ्चालक समिति तथा कृषि पूर्वाधार विकास तथा यान्त्रीकीकरण प्रवर्धन केन्द्रको सहकार्यमा नयाँ प्रयोगशालाहरु स्थापना भइ सञ्चालनको क्रममा रहेका छन । 

उक्त प्रयोगशालाहरुमा हाल अर्गानोफस्फेट तथा कार्वामेट समूहका बिषादीहरुको अवशेषको द्रुत परीक्षणको कार्य भइरहेकोमा परीक्षणको दायरा विस्तार गरी डाईथायोकार्बामेट तथा सिन्थेटीक पाइरेथ्रोइड समूहका बिषादीको अवशेषको समेत द्रुत परिक्षण गर्ने योजना रहेको छ ।